रास्वपामा पनि गुटको बीजारोपण? रविको रोजाइ, मनिषको विद्रोह र आन्तरिक लोकतन्त्रको परीक्षा

  • प्रकाशित मिति : २०८३ असार १२, शुक्रबार
  • नेपाल टेल संवाददाता

संसदको ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आन्तरिक लोकतन्त्र कति ? यो प्रश्नको जवाफ खोज्न मनिष झालाई पच्छाउनुपर्छ । उनले फलानोको फोन आएपछि सोचौँला भन्ने राजनीति नहुने बताइदिएका छन् । उनले यहाँ सिधासिधा सभापति रवि लामिछानेलाई लक्षित गरेको बुझ्न कठिन छैन । उनले सभापति रविलाई मात्र होइन, उम्मेदवारी घोषणा गरेर फिर्ता लिनेलाई पनि बाँकी राखेनन् । उनले यति आलोकाँचो राजनीति पनि गर्न नहुनेभन्दै सशक्त राजनीति गर्न सक्ने आँट भएकाहरु भिडिरहन्छन् भनिदिए । झाको यो कुराले पुराना पार्टी जस्तै रास्वपामा पनि आन्तरिक लोकतन्त्रमा नेतृत्वको हस्तक्षेप रहेको प्रष्ट्याउँछ ।

रास्वपा सभापति लामिछाने दुई महामन्त्रीमध्ये एक निर्वाचित महामन्त्रीमा आफ्ना निकट विपीन आचार्यलाई ल्याउन चाहन्छन् भन्ने देखाउँछ । यसको पुष्टि गणेश पराजुलीले नै गरेका छन् । सुरुमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका पराजुलीले फिर्ता लिँदै आचार्यलाई समर्थन गरेको घोषणा गरे । अनि भने यो महाधिवेशनको घडीमा पार्टीको स्थापनाकालदेखिका संस्थापन पक्ष एक ठाउँमा आउनु थियो, उभिनुपर्ने थियो । त्यसैमा उनले थपे महाधिवेशनका क्रममा हिजोदेखि सबै साथीहरुले वास्तविक क्षमता, रुप र चरित्र देखिएको छ । यो कुराले सिधा सभापति लामिछाने नै गुटमा केन्द्रित भएको देखाउँछ ।



अब उनी किन यसो भनिरहेका छन् भने, मनोनित महामन्त्रीमा वरिष्ठ नेता बालेन शाह समूहका भूपदेव शाहलाई बनाउने सहमति गरिसकेका छन् । वा भूपदेव नै नहोलान् तर बालेन पक्षलाई दिने तयारीमा उनी छन् । अब मतदानबाट आउने महामन्त्री पनि आफ्ना पक्षबाट नभए के होला ? सायद यही सोचेर रविले आफू निकटका विपिनलाई नै सर्वसम्मत गर्न खोजे ।

तर, मनिष, गणेश कार्की र सागर ढकालले नछाडेपछि आफू निकटका प्रमोद न्यौपाने, गणेश पराजुलीलाई फिर्ता लिन लगाएको बुझिन्छ । त्यसअघि पनि उम्मेवारी घोषणा गरेका शिशिर खनाल, कबिन्द्र बुर्लाकोटीले उम्मेदवारको नामावलीबाट नाम हटाएका थिए । अन्तिम नामावालीमा नाम रहेकी विवेकशील साझाबाट गएकी रञ्जु दर्शनाले पनि नाम फिर्ता लिइन । अब न्यौपाने, पराजुली, दर्शनाले सभापतिले चाहेका आचार्यलाई समर्थन गरेको घोषणा गरे । बालेन टीमका राजुनाथ पाण्डेले पनि नाम फिर्ता लिए तर, उनले कसलाई समर्थन भनेनन् ।

यहाँ बुझ्नुपर्ने कुरा के छ भने रवि कुनै पनि हालतमा आफू निकटलाई ल्याउन चाहनुले गुटको खेल चलेको बुझ्न कठिन छैन । उता, बालेन समूहले पनि उपाध्यक्ष महिलामा तोसिमा कार्की र सह-महामन्त्रीमा असिम शाहलाई जसरी पनि जिताउने लाइनमा देखिएको छ । प्रधानमन्त्रीको दैनिक गतिविधिका रेडिमेड समाचार र सूचना सार्वजनिक गर्न सचिवालय सदस्यहरू एडमिन रहेको ह्वाट्सएप समूहबाट उपाध्यक्ष महिला र सहमहामन्त्रीका लागि तोसिमा र असिमको प्रचार नै गरियो । तर, महामन्त्रीबारे बोलेको छैन । किनभने मनोनित एक महामन्त्रीमा बालेन समूहले स्थान सुरक्षित गरेको छ ।

रास्वपामा यी दृश्यले गुटको विजारोपण भएको देखाउँछ । त्यसको कोपभाजनमा सुरुदेखि रविलाई साथ दिंदै आएका मनिषलाई पर्ने देखिन्छ । उनी कुनै गुटमा देखिएका छैनन् । उनलाई बालेन समूहले पनि खास मन पराउँदैन, न अहिले रविले नै साथ दिए । मन्त्री समेत हुन नपाएका मनिष अस्तित्वको लडाईंका लागि मैदानमा उत्रिएका छन् ।

तर, रास्वपा सिंगो केन्द्रीय समितिमै दुईधार देखिने निश्चित छ । रास्वपाको महाधिवेशनले गुटको विउ छरेका कारण पनि विस्तारै गुट संस्थागत हुने देखिन्छ । हाल ९९ निर्वाचित केन्द्रीय सदस्यहरुमध्ये भर्खरै प्रवेश गरेका बालेन शाह पक्षका नेताहरुले राम्रो मत हासिल गरेका छन् । अब पूर्वसहमति अनुसार यो समूहका अरु नेतालाई रविले मनोनित गर्दा ‘बार्गेनिङ’तहमा उत्रिन सक्छ । बालेनलाई साथ दिनका लागि उपसमूहका रुपमा सुधन गुरुङको प्रवेश पनि भएकै छ । सुधन मनोनित हुने दाउमा रहँदा जेनजीका नाममा उनका केहीले सदस्य जितेका छन् ।

यीनै गुट/उपगुटले रास्वपा पुराना दलभन्दा फरक नदेखिने आँकलन गर्न थालिएको छ । यस्तै अवस्था भोगेका कांग्रेस/एमाले अन्तत: जनमत गुमाउने अवस्थामा पुगे । पटक-पटक नाम फेर्दै राजनीतिक अस्तित्व नै गुमाएको पूर्वमाओवादी हालको नेकपाको त कुरा गरि साध्य छैन । यस्तै आन्तरिक लोकतन्त्रमा नियन्त्रण रास्वपामै पनि देखिदा, जुन जोगी आए पनि कानै चिरेको जस्तै नेपाली राजनीति बनेको छ ।